समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छ: मन्त्री गुरुङ
काठमाडाैं | असोज ३०, २०८१
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो ।
“नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।”
मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य झल्किनुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरुलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।”
राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधँै तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताउनुभयो । नेपाल टेलिभिजनबाट आज अपराह्न ४ः३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।
नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसङ्ख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

